काठमाडौँ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले भारत जम्मु काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली मारिएकोबारे नेपालस्थित पाकिस्तानी दूतावासलाई ध्यानाकर्षण गराएको छ ।
अभियानका महासचिव देवेस झाको नेतृत्वमा गएको एक टोलीले दूतावासका सैनिक प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । नेपाली नागरिक भएको परिचय दिँदादिँदै पनि सन्दिप न्यौपानेको हत्या गरिएको घटनाले सम्पूर्ण नेपालीहरू शोकाकुल अवस्थामा रहेको विषय ध्यानाकर्षण गराउँदै अभियानले आतङ्कवादी लडाकुहरूको कारबाही रोक्न पाकिस्तान सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचार अनुसार धर्म सोध्दै हिन्दूहरुलाई गोली हानेको घटनामा नेपालीप्रति पनि दुराग्रह राखेर पाकिस्तानबाट आएका आतङ्ककारीहरुले निहत्था हिन्दु पर्यटकहरूलाई मार्ने प्रवृत्ति घोर निन्दनीय कार्य हो ।
वैशाख ९ गते भारत जम्मु कश्मिरको पहलगाममा आतङ्कवादी समूहले नेपालका युवा सन्दीप न्यौपानेसहित २६ जनाको हत्या गरेको थियो । ‘पाकिस्तानी सेनाका प्रमुख असिम मुनिरले हिन्दु समाज विरुद्ध दिएको भड्काउ भाषणबाट प्रभावित भएर एक साताभित्रै धर्म सोध्दै छानी छानी हिन्दुहरूको हत्या गर्नुले पाकिस्तानी सेना प्रमुख र आतङ्कवादीबिच कुनै संलग्नता नरहेको भनी विश्वास गर्न नसकिने’ ज्ञापनपत्रमा भनिएको छ ।
पाकिस्तानबाट भारत कश्मिरमा आएर न्यौपानेसहित हिन्दु पर्यटकहरूको ज्यान मार्ने आतङ्ककारीहरुलाई कारबाही गरी आतङ्कवादलाई आर्थिक सहयोग तथा प्रश्रय नदिन सम्पूर्ण नेपाली जनताका तर्फबाट ध्यान आकर्षण गराइएको जागरण अभियानले जनाएको छ ।
हिन्दु जागरण अभियानको ज्ञापन पत्र बुझ्दै दूतावासका सेना प्रमुखले भारतमा भएको आतङ्ककारी हमलामा पाकिस्तानको कुनै हात नरहेको धारणा राखेका थिए । भारतले यसमा पाकिस्तानको नाम जबरजस्ती ल्याएको दाबी गर्दै उनले त्यसको बाहानमा पाकिस्तानसँग रहेका सम्पूर्ण सन्धि सम्झौता भङ्ग गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १५ : २८
लेखकबाट थप