पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने हुने संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए ।
वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए । वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ । नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए ।
संविधान भित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानुन अनुसार कारबाही हुने उनले स्पष्ट पारे । संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले वर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समीक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने उनले बताए ।
पछिल्ला वर्षमा लागु औषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखा परेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील रहेको बताए ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको बताउँदै उनले जनतालाई सेवा दिने कुरामा कुनै किसिमको कसर बाँकी नराख्न आग्रह गरे । जिल्लास्थित जिल्ला प्रशासन कार्यालय संघको प्रतिनिधि रहेको उल्लेख गर्दै यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए। सेवालाई नागरिक मैत्री तथा प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमीलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताए । बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उनले बताए। प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड भन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको उनले बताए ।
गत वर्ष कोरला नाका सञ्चालन समेत गरिएको बताउँदै उनले त्यसलाई थप व्यवस्थित गर्दै अघि लैजानुपर्ने आवश्यकता औँल्याए।सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको छ । मन्त्री लेखकले आजै संघ मातहत रहेको आपत्कालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए ।
गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदाम घरले संकटको समयमा तत्काल प्रभावकारी बन्दामेबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक