काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभई अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताएका छन्। उनले अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति छन् ।
उनले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् । “आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकाय प्रतिबद्ध छ भन्नेमा म ढुक्क छु”, राष्ट्रपति पौडेलले भने ।
नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनामा भाग लिँदै अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए। राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।
“राष्ट्रसंघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिबद्धताको इतिहासलाई तपाईँहरूले निरन्तरता दिँदै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने ।
त्यसैगरी उहाँहरूका परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्रसंघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पूरा गर्न सफलता मिलोस् भन्ने उनले शुभकामना व्यक्त गरे।
राष्ट्रपति पौडेलले हालको बदलिँदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरू जानकार नै भएको उल्लेख गर्दै अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुनसक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रूपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरे ।
“विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रूपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्यसम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पूर्वतयारीसम्बन्धी प्रस्तुतिको अवलोकन गरेका थिए भने शान्ति मिसनसम्बन्धी विभिन्न तालिमबारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ चैत्र २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो: राष्ट्रपति पौडेल
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
बौद्धिक समुदायका अगुवालाई राष्ट्रपतिको आग्रह- दलहरूलाई खबरदारी गरिनु पर्यो
निर्वाचन सुरक्षाको विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग आज छलफल गर्दै राष्ट्रपति पौडेल
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक जारी