काठमाडौँ । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् ।
मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्बाध गाडीहरू गुडिरहेका थिए ।
तर शिक्षकहरूले बुधबार बीचको लेनसहित उत्तरतर्फको लेनमा समेत प्रदर्शन गर्यो । जसले उत्तरतर्फको लेन अर्थात् माइतीघरबाट बानेश्वर आउने सडकमा पनि गाडी गुड्न पाएनन् । बुधबारसम्म दक्षिणतर्फको लेन अर्थात् बानेश्वरबाट माइतीघरतर्फ गाडी गुडिरहेका थिए ।
तर आज शुक्रबार शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुली बजार पुलबाट अगाडि बढ्न दिएका छैनन् ।
बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुली बजार पुल क्षेत्रमा केही बेर तनाव अवस्थाको सिर्जना भयो । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।
आन्दोलनकारी शिक्षकहरूले गाडी अगाडि बढ्न नदिएपछि बिजुली बजार पुगेका गाडीहरू बाध्य भएर ब्याक हुनु पर्यो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् ।
शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । तर वार्ताको समय भने तय भइसकेको छैन । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ चैत्र २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनको चेतावनीसहित शिक्षा विधेयक पारित गर्न सरकारलाई शिक्षकहरूले दिए अल्टिमेटम
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने