सामाजिक सद्भावको पर्व छठ

आइतबार, २५ कार्तिक २०७५, १६ : ०३
सामाजिक सद्भावको पर्व छठ

- सबिता लम्साल

दशैं र तिहार पछि अब मधेशमा छठ पूजाको उत्सव सुरु हुन्छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिमा छठ पूजाको व्रत आरम्भ हुन्छ । जलाशयमा सामूहिक पूजापछि अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ भोली पल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।

जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ । छठको सबभन्दा महत्वपूर्ण पक्ष, यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त वातावरण बनाउँछ र समाज यस अवसरमा जातीय विभेदरहित हुन्छ । जातीय भेदभाव, छुवाछूत, उचनिचको भावना छठमा सकिएर जान्छ । कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वादस्वरुप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने परम्परा छठको हो ।

मिथिलाको सामाजिक संरचनामा दलित र अछूत मानिएका समुदायले बनाउने ढिक्की, डागरा (नाङ्लो), सुपली छठमा नभई हुँदैन । कुमालेले बनाउने माटोका भाँडाकुँडा पनि नभई हुँदैन । प्रकृतिमा भएका हरेक वस्तुको महत्व छ भन्ने मान्यता छठसँग जोडिएको छ । सुथनी, साठी धान, बिमिरो, अदुवा, बोडी, फर्सी र उखुजस्ता प्रसाद यसैका उदाहरण हुन् । जीव र प्रकृति एकअर्कासँग अद्वैत छन् भन्ने यसले जनाउ दिन्छ । यसमा सूर्यको पूजा गरिन्छ जो जीव, वनस्पति दुवैको अस्तित्वको कारक हो ।

यस पर्वमा कलाको पनि त्यत्तिकै महत्व रहन्छ । भनेजस्तै ठेकुवा बनाउने अर्घउती (साँचा) मा मयूर, फूल, सूर्य, चन्द्र, तारा आदिको बुट्टा बनाइएको हुन्छ । माटोको हात्तीदेखि चौमुखसम्म र बाँसका अनेक सामानमा कला देख्न पाइन्छ । उदाउँदो मात्र होइन, अस्ताउँदोको पनि त्यत्तिकै महत्व छ । जीवनमा सूर्य अवश्य नै उदाउँछ भन्ने सन्देश छठमा छ ।
छठ विशुद्धरुपमा प्रकृति र पुरुषको पूजा हो । सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गर्छ ।
 

सूर्यको उपासना
झट्ट हेर्दा यो सूर्यको पूजाझैं देखिए पनि पुराणअनुसार यो मूलतः प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो । छठ पर्वलाई सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्ने चाडका रूपमा पनि लिने गरिन्छ । अत्यन्त कठिन व्रतका साथ निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुखशान्ति तथा रक्षाको कामना गर्दै छठीमाता र सूर्य भगवानको पूजा गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रहिआएको छ । फरक राष्ट्र, समाज र व्यक्तिपिच्छे छठ पर्वबारे अनेकौं लोककथाहरू छन् । ती सबैको मर्म भनेको महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुस्ख, परिवार, समाज र मानवजातिको हित हो जुन सम्पूर्ण पृथ्वीलाई अन्धकारबाट छुटकारा दिने अनेकौं नाम भएका सूर्यको उपासनाबाट प्राप्त हुन्छ ।

विश्वको अधिकांश संस्कृति र सभ्यतामा सूर्यलाई विभिन्न नामले पुजिने गरेको सर्वविदितै छ । बेबिलोन सभ्यता, युनानी परम्परा तथा इजिप्टमा सूर्य (अपोलो) को महत्त्व छ । भारत, जापान, क्यानाडा र मेक्सिकोमा सूर्य बारेका थुप्रै लोककथा प्रचलित छन् । अफ्रिका, एसिया, युरोप र अमेरिकाको प्राचीन सम्यतामा पनि सूर्य उपासनाबारे उल्लेख छ । सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन् । उनी बिना कुनै विभेद गरिब र धनी सबैलाई समान रूपले प्रकाश छर्छन् । विश्वको थुप्रै परम्परामा उदाउँदो सूर्यको मात्र पूजा हुन्छ । छठमा यसको ठिक विपरीत सबभन्दा पहिले अस्ताइरहेको र त्यसपछि उदाइरहेको सूर्यको बरोबर पूजा गरिन्छ । यो भनेको सबैलाई अवसरवादी नबनी हरेकसँग समान व्यवहार गर्नुपर्ने सन्देश दिनु हो ।

विश्वको भौतिक विकासको कल्पना सूर्यबिना सम्भव छैन । उनकै ऊर्जामा जीवन र प्रकृतिको सन्तुलन निर्भर गर्छ । हामीलाई स्वस्थ राख्न सूर्यको किरणको महत्वपूर्ण भूमिका हुन्छ । यो भिटामिन ‘डी’को मुख्य स्रोत पनि हो । योग र व्यायामका धेरै विधि सूर्य किरणको चिकित्सा पद्धतिमा आधारित हुन्छ । यसको किरणले मुटु, जोर्नी र टाउकोको व्यथालाई निको पार्ने हामीले थुप्रै ग्रन्थमा पढेका छौं । यस्तै—यस्तै थुप्रै बलियो आधारले गर्दा छठ पुजनले विशाल रूप लिएको हो ।
 

सामाजिक सद्भावको पर्व
भनिन्छ, तराई भेगमा जातीय छुवाछूत अझै कायम छ । तर कमैलाई थाहा होला, छठजस्तो पूजामा चढाइने ठेकुवा, भुसुवा र खाजाजस्तो लोकप्रिय प्रसाद राखिने बाँसको नाङ्लो तथा ढकीचाहिँ तिनै अछूत मानिएका डुम (मेहत्तर) समुदायले निर्माण गर्छन् । आफूलाई उपल्ला जातिका भन्नेहरू महिना अघिदेखि ती दलित समुदायको बस्तीमा पुगेर ती सामग्री बनाइदिने आग्रहसाथ बैना छाडेर जान्छन् । यसबाट पनि जातीय समानताको उद्घोष हुन्छ ।

अर्को घतलाग्दो पक्ष के छ भने विपन्नले समेत भिक्षा मागेर पनि यो पर्व गर्न सक्छन् । हुनेखानेले समेत कुनै भाकल पुरा भएमा भिक्षा मागेर पूजा गर्ने अठोट लिन्छन् । आफैले गर्न नसक्नेले चिनेका व्रतालुलाई सामग्री किनेर दिई पूजामा सहभागी हुन्छन् । परिवारको सदस्य संख्याको आधारमा समेत नाङ्लोको संख्या तय हुन्छ । मधेसी र पहाडी समुदायबीच गाढिँंदै गएको सामाजिक, सांस्कृतिक, धार्मिक तथा वैवाहिक सम्बन्धले समेत यसमा उल्लेखीय भूमिका खेलेको छ ।

यो गीतमय पर्व पनि हो । पूजाको तयारीको क्रममा महिना दिन अघिदेखि तराईवासीको घर—घरमा सूर्य महिमा, नारी पीडा र रमाइलाको लागि लोकगीतहरू गाइन्छ । पूजाको तयारी चरणदेखि अन्त्यसम्म गाइने गीतले भावुक बनाउँछ । सामाजिक सद्भाव बढाउन पनि यस्ता गीतले भूमिका खेल्छन् । छठको विधि गीतमै लुकेको हुन्छ भन्दा वेश होला । लोकगीत बिना यो लोकपर्व अधुरो हुन्छ ।

(मधेश दर्पण फिचर सेवा)

 

प्रतिक्रिया दिनुहोस