काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । राप्रपा मुख्यालयमा जारी बैठकमा शुक्रबारको राजावादी आन्दोलनमा भएको हिंसात्मक घटना र त्यसमा पार्टीका कतिपय नेता जोडिएको विषयमा छलफल केन्द्रित रहेको राप्रपाका एक नेताले बताए ।
राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ ।
त्यसैले राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरूको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न लागेको हो । मिश्र र राणालाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरिसकेको छ । राप्रपा वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले शनिबार बिहान थुनामा रहेका मिश्र र राणालाई भेटेका थिए ।
राप्रपा नेताहरूले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरूमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन् ।
तर, भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए ।
पूर्वराजासँग समझदारी समयमै नगरे बंगलादेश, सिरिया र श्रीलंकाको नतिजा भोग्नसमेत राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले धम्की दिएका थिए । शुक्रबार प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि महामन्त्री राणाले पनि उत्तेजित भिडलाई अघि बढ्न पटकपटक उक्साएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा