वित्तीय विवरण पेश नगर्नेलाई नेप्सेले कारवाही गर्ने

मंगलबार, १८ पुस २०७४, १५ : ०८
वित्तीय विवरण पेश नगर्नेलाई नेप्सेले कारवाही गर्ने

चितवन । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई कम्पनीको लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ । स्टकले आज एक सूचना मार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो ।

नेप्सेले विज्ञप्ति जारी गर्दै सूचिकृत सबै कम्पनीकोहरुको प्रमोटर र पब्लिक शेयरधनीको सूची साथै आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण, लेखा परीक्षण नभएको भए विगत तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको हो ।

नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गीकरणकाका लागि उक्त विवरणहरु माग गरेको बताएको छ । उक्त विवरणहरु आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।

धितोपत्र सूचिकरण विनियमावली, २०५३ मा गरिएको व्यवस्था अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तिमा २ करोड भएको, साधारण शेयरवालाहरुको संख्या कम्तिमा १००० जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरण समेत उल्लेख गर्न निर्देशन दिएको छ ।

यस्तै कम्तिमा ३ वर्ष अगाडि देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आय व्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ ।
नेप्सेले केही दिन पहिले वित्तिय विवरणमा गडबढी गरेको भन्दै २४ कम्पनीलाई कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस