काठमाडौं। स्कुटर चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंबाट ट्राफिक प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१३ घर भई हाल काठमाडौंको मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन् ।
वास्तविक नम्बर बा ८७ प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका-१० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका-९ बाट हराएको भनी निवेदन दिएका थिए । उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनी खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाडौंको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाइराखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका-१० घलेपुलमै नम्बर प्लेटनै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो । वास्तविक नम्बर बा ९२ प ९३९५ भएको स्कुटर टोखा नगरपालिका-११ बाट हराएको भनी रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न एसपी गिरीले अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न समेत प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १३ : ४५
लेखकबाट थप