कुखुरापालन क्षेत्रमा १३ प्रतिशत उत्पादन वृद्धि

सोमबार, १७ पुस २०७४, २० : ०६
कुखुरापालन क्षेत्रमा १३ प्रतिशत उत्पादन वृद्धि

रत्ननगर, (चितवन)  । नेपालमा पशुपालनले कूल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत धानेकामा कुखुरापालन व्यवसायले मात्रै झण्डै चार प्रतिशत ओगटेको छ ।

यस क्षेत्रमा अघिल्लो वर्षभन्दा १३ प्रतिशत उत्पादन बढेको बताइएको छ । पाँचौँ राष्ट्रिय कुखुरापालन दिवसका अवसरमा नेपाल कुखुरा व्यवसायी मञ्च र पशुपक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज मनाइएको कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले संघीय संरचनानुसार संघ, प्रदेश र स्थानीय तहबाटै कुखुरापालनसम्बन्धी सेवा दिने गरी आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।

 गत वर्ष स्थानीय तहमा छुट्याइएको बजेटमध्ये ५२ प्रतिशत मात्रै उपयोग भएको र ४८ प्रतिशत रकमको राम्ररी सदुपयोग हुन नसकेको उहाँको भनाइ छ । व्यवसायीले वैदेशिक लगानीका विषयमा उठाएको प्रश्नमा ओलीले भने, ‘व्यवसायीको क्षमता विश्लेषण गरेर मात्रै वैदेशिक लगानी भित्र्याइनेछ ।’

‘कुखुराको मासु र अण्डा खाऔँ, स्वस्थ बनौँ, स्वदेशी उद्योगको प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले कृषि क्षेत्रमा आत्मनिर्भर भएको एउटा मात्रै व्यवसाय कुखुरापालन भएको बताए । भरतपुर अस्पतालका डा भोजराज अधिकारीले जनस्वास्थ्यका लागि अण्डा र मासुको उपयोगिता तथा फाइदाका बारेमा जानकारी दिनुभयो । कुखुरापालन व्यवसायी डा तिलचन्द्र भट्टराईले एशियाली मापदण्डअनुसार पुर्याउनका लागि पनि अहिलेको उत्पादनमा दोब्बर बढाउनुपर्ने औँल्याए ।

 
नेपालमा २०७० सालदेखि राष्ट्रिय कुखुरापालन दिवस मनाउन थालिएको हो । उक्त व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा एक लाख ५० हजार व्यक्तिले रोजगारी पाएको तथा करिब रु ८० अर्ब लगानी भएको व्यवसायीले बताएका छन् । समग्र कुखुरा व्यवसायमा ५० प्रतिशत चितवनले ओगटेको छ । कार्यक्रम हुनुअघि बिहान रत्ननगरमा प्रभावतफेरी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस