बीस लाख जनाको आँखा जाँच

आइतबार, ११ कार्तिक २०७५, ०८ : ४१
बीस लाख  जनाको आँखा जाँच

फाईल फोटो

नेपालगञ्ज  ।  नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । 

अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग/अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ जनाको शल्यक्रिया गरेको जनाइएको छ । 

सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ । “यी आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी हामीले थालेका छौँ”, सङ्घका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले बताउनुभयो । 

अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, फास्टट्र्याक शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ । 

सङ्घको शनिबार यहाँ आयोजित २५औँ जिल्लासभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव शान्ति श्रेष्ठले भारतीय राजदूतावासको रु पाँच करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग रु एक करोड ४५ गरी रु ६ करोड ४५ लाखको लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माण भइरहेको जानकारी गराउनुभयो । 
त्यस अवसरमा वरिष्ठ समाजसेवी स्वर्गीय मोहनलाल वैश्य (मरणोपरान्त), नर्वदा शर्मा, प्रवेजअलि सिद्धिकी, पत्रकार हेमन्त कर्माचार्य र झलक गैरेलाई सङ्घका तर्पmबाट सम्मान गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस