रत्ननगर ७ को वडा कार्यालय उद्घाटन, सेवा सरल र सहज बनाउने प्रतिबद्धता

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०७५, १९ : ४०
रत्ननगर ७ को वडा कार्यालय उद्घाटन, सेवा सरल र सहज बनाउने प्रतिबद्धता

चितवन । रत्ननगर नगरपालिका वडा नं ७ को वडा कार्यालय,सामुदायिक पुस्तकालय तथा फ्रि वाईफाई सेवा बुधवार उद्घाटन गरिएको छ । वडा अन्तर्गत मालपुर(चराचोक)चोकमा निर्माण गरिएको वडा कार्यालयको मेयर नारायण वन,पुस्तकालयको उपमेयर विमला दुवाडी र फ्रि वाईफाई सेवाको प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले उद्घाटन गरेका थिए । स्थानीय निकायको निर्वाचन पछि घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको सो वडाले आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ को ३२ लाखको लगानीका कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । बुधवार देखि नै नयाँ भवनबाट सेवा सुरु गरिएको उनले जानकारी दिए ।

वडा अध्यक्ष भट्टले कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवालाई सहज र सरल बनाउने प्रतिबद्धता जनाए । वडा कार्यालय भवनमै स्वः हस्तबहादुर भट्टराई प्रतिष्ठानले सामुदायिक पुस्तकालय समेत सञ्चालनमा ल्याएको छ । वडा कार्यालयले रेखदेखमा सञ्चालन गर्ने गरी प्रतिष्ठानका संरक्षण रामकुमार भट्टराईले करिब ३ लाख रुपैयाको लगानीमा पुस्तकालय बनाएका हुन । वडा भित्रका विद्यार्थी र अध्ययनशिल वडाबासीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिएको भट्टराईले बताए । आवश्यकता अनुसार लगानी बढाउने योजना रहेको उनले बताए । कार्यक्रममा गैंडाको आक्रमणबाट मृत्यू भएकी स्थानीय मोतिमाया तामाङको श्रीमान सेल दोर्जे तामाङलाई समाजसेवी तथा व्यवसायी कृष्ण भट्टले छोरी एन्जिला भट्टको स्मृतिमा रु २५ हजार रुपैया राहत प्रदान गरेका थिए । रत्ननगर नगरपालिकाले सुरु गरेको फ्रि वाइफाई सेवा अन्तर्गत वडा नं ७ को चराचोकमा फ्रि वाइफाई सुरु गरिएको हो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान दिएका ध्रुव गिरी,रामकुमार भट्टराई,गोविन्द प्रसाद पाण्डे,जनक पौडेल,रामकाजी अधिकारी,कृष्ण भट्ट,हरिभक्त घिरिमेलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा,वडा नं ५ का वडा अध्यक्ष कृष्ण महतो,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेब ढुंगाना,क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरे,रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी,मृगकुञ्ज सहकारीकी सचिव विन्दा कार्की,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी,नेकपाका जंगिलला चौधरी, नेपाली काँग्रेसका कन्चन कुमार चौधरी लगायतले मन्तव्य राखेका थिए । कार्यालय उद्घाटन पूर्व वडाभित्र भजनमण्डली सहितको शोभायात्रा निकालिएको थियो । 

प्रतिक्रिया दिनुहोस