न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ

बुधबार, ०७ कार्तिक २०७५, १२ : ५७
न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ

दाङ । दाङको गढवा गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ९५ उजुरी दर्ता भएका छन् । न्यायिक समितिका सदस्य कमला नेपालीले गत असारसम्म ८२ वटा र साउनदेखि कात्तिक ६ गतेसम्म १३ वटा गरी जम्मा ९५ वटा विवाद आएका बताउनुभयो । 

समितिका सदस्य नेपालीका अनुसार न्यायिक समितिमा आएका विवादमध्ये ६५ वटा विवाद मिलाइसकेको छ भने चार वटालाई अदालत जान सल्लाह दिएको र अन्य मुद्दा छलफलको प्रक्रियामा रहेका छन् । 

गाउँपालिकाका न्यायिक समितिका संयोजक शान्ति चौधरीले समितिमा आउने मुद्दामा जग्गा विवाद, लेनदेन, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानी, विदेश पठाउने नाममा ठगी र सम्बन्धबिच्छेद रहेका छन् । 

सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्, हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ, मुद्दा मिलाउनमै व्यस्त रहनुपर्दा अन्य काम कतिबेला गर्ने भन्ने समस्या हुने गरेको छ गढवा गाउँपालिका न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष शान्ति चौधरीले भन्नुभयो । 

न्यायिक समितिका पदाधिकारीले आफूहरुलाई कानूनको बारेमा प्रशिक्षणको अभाव रहेको बताएका छन् । 

स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकिएको छ । मुलुकमा गत भदौदेखि नयाँ कानून आएको छ, कानूनको बारेमा अलि कति पनि प्रशिक्षित नगराई न्यायिक समितिमा बसेर काम गर्नुपर्दा आफूहरुलाई निकै कठिनाइ भएको उनीहरु बताउँछन् । 

त्यसका लागि न्यायिक समितिका संयोजक र सदस्यलाई सरकारले कानूनको बारेमा न्यूनतम भए पनि तालीम दिएर प्रशिक्षित गराएमा उजुरी मिलाउन सहज हुने न्यायिक समितिका पदाधिकारीको धारणा छ । (रासस) 

प्रतिक्रिया दिनुहोस