म्याग्दीमा सामुदायिक भवन निर्माण

शनिबार, ०३ कार्तिक २०७५, १४ : १४
म्याग्दीमा सामुदायिक भवन निर्माण

म्याग्दी । धवलागिरि गाउँपालिका–६ स्थित कल्लेनी गाउँपालिका, वडा, प्रवासमा रहेका कल्लेनीका युवाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदानमा एक तले पक्की सामुदायिक भवन निर्माण गरिएको छ । 

करिब रु २१ लाखको कुल लागतमा कल्लेनीको छहरीमा एउटा सभाहल र दुई कोठासहितको उक्त सामुदायिक भवन बनाइएको निर्माण समितिका सल्लाहकार डेक पुन (डि.के)ले बताउनुभयो । 

वडा कार्यालयले रु. पाँच लाख र गाउँपालिकाले रु दुई लाख अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीय हेमबहादुर र हस्तबहादुर पुनले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । 

कल्लेनी घर भई हाल अस्टे«लियामा रहनुभएका दिपक भण्डारीले र ट्रस मराङ अस्टे«लियामार्फत रु दुई लाख ५५ हजार तथा रामबहादुर केसीले रु दुई लाख सहयोग गर्नुभएको थियो । बाँकी रकम देउसी भैलो, चन्दा सहयोग, आमा समूह र युवा क्लबबाट जुटाइएको हो । 

मन्दिर निर्माणका लागि करिब २५ लाख सहयोग 
यसैबीच म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना युक्त ताकमकोतस्थित जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि समुदाय स्तरबाट रु २५ लाखभन्दा बढी सहयोग जुटेको छ । 

पाँच सय वर्ष पुरानो ताकमकोतको पुनःनिर्माणका लागि सञ्चालित अभियानमा चन्दा सहयोग गर्ने हालसम्मका सहयोग दातालाई महानवमी पर्वको अवसरमा सम्मान गरिएको थियो । हालसम्म स्वदेश तथा बिदेशमा करिब रु. २५ लाख सहयोग घोषणा भएको वडा अध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो । 

अभियानमा धारापानीका नरबहादुर थापाले हालसम्म सबैभन्दा बढी रु. तीन लाख ५५ हजार ५५५ सहयोग गर्नुभएको छ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले चन्दादातालाई सम्मान पछि आयोजित कार्यक्रममा ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न संघीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापन गराउन पहल गर्ने बताउनुभयो । 

ऐतिहासिक संरचनालाई असर नगर्ने गरी कोतको जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि रु. असी लाख लागत अनुमान गरिएको पुनःनिर्माण समितिका सहसचिव तेजेन्द्र थापाले बताउनुभयो ।  (रासस) 

प्रतिक्रिया दिनुहोस