बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

एजेन्सी

बुधबार, ३१ असोज २०७५, १३ : २७
बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ ।

गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो । हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो ।

घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ ।

जघन्य
दोषीलाई फाँसी दिइएका बेला जैनबको परिवार र आफन्त पनि उपस्थित थिए ।

कसुर नगरमा बलात्कारपछि हत्या गरिएको जघन्य अपराधले पाकिस्तानमा व्यापक आक्रोश निम्याएको थियो र घटनाको विरोधमा देशभरि प्रदर्शनहरू भएका थिए ।

दोषीलाई झुण्ड्याइएको दृश्य देखेका जैनबका बुवा आमीन अन्सारीले आफूलाई 'राहत महसुस' भएको प्रतिक्रिया दिए ।
उनले भने, जीवित भएको भए मेरी छोरी अहिले सात वर्ष दुई महिनाकी हुन्थी ।

बलात्कारीलाई झुण्ड्याइएको दृश्य टेलिभिजनमा नदेखाइएको भन्दै आमीनले दुःख व्यक्त गरे ।

सार्वजनिक
यसअघि आफ्नी छोरीको बलात्कारीलाई सार्वजनिक स्थानमा झुण्ड्याइनुपर्ने आमीनको माग लहोर उच्च अदालतले खारेज गरिदिएको थियो ।

गत ज्यानुअरी ४ मा बेपत्ता भएकी जैनबको शव हराएको पाँच दिनपछि फोहोरको थुप्रोमा भेटिएको थियो ।
छोरी हराएकोबारे प्रहरीमा उजुरी गरे पनि शव भेट्नु अघिसम्म प्रहरीले कुनै कदम नचालेको जैनबको परिवारले बताउने गरेको छ ।

घटनापछि प्रहरीले नभइ जैनबका आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभीको फूटेज फेला पारेका थिए ।

एक व्यक्तिले बालिकालाई पछारिरहेको सीसीटीभीको फूटेज त्यसपछि सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो ।

अभियान
मानिसहरूले #जस्टिस फर जैनब नामक अभियान चलाए र थुप्रै पाकिस्तानीहरू पीडित परिवारको न्यायको पक्षमा उत्रिए ।

जैनबको घर नजिकै बसोबास गर्ने इमरान अलीलाई प्रहरीले गत ज्यानुअरी २३ मा 'डीएनए' प्रमाणका आधारमा पक्राउ गरेको थियो ।

गत फेब्रअरीमा अदालतले इमरान अलीलाई जैनबको बलात्कार र हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको थियो ।

सो आदेशविरुद्ध उनले दिएको पुनरावेदन एउटा अदालतले खारेज गरिदियो ।

र, यसै महिनाको शुरूतिर पाकिस्तानी राष्ट्रपतिले पनि माफीका लागि गरिएको निवेदन अस्वीकार गरेका थिए । -बीबीसी

प्रतिक्रिया दिनुहोस