उद्योगमन्त्री भण्डारीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन​

सफल खबर संवाददाता

शनिबार, ०१ भदौ २०८१, १३ : ५७
उद्योगमन्त्री भण्डारीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन​

मकवानपुर। उद्योगमन्त्री दामोदर भण्डारीले हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सङ्घीय सरकारलाई अवगत रहेको बताएका हुन् ।

उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उनले सङ्घीय सरकारले चरणबद्ध रूपमा गृहकार्य गरिरहेको बताए ।हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिएकाइ लागत न्यूनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिए ।

समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मशिनरी हटाएर नयाँ प्रविधिका मशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए ।

अध्यक्ष भण्डारीले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटका कारण पटकपटक बन्द गर्नु परिरहेको बताए ।

 

 

 

उत्पादनलाई थप वृद्धि गर्न पुराना प्रविधिका मशिनबाट काम लिन नसकिने अवस्था रहेकाले नयाँ प्रविधिका मशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस