चिनियाँ राजदूतका अमर्यादित अभिव्यक्तिमा रोक लगाउन संसद्‌मा उठ्यो आवाज

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १५ : ०६
चिनियाँ राजदूतका अमर्यादित अभिव्यक्तिमा रोक लगाउन संसद्‌मा उठ्यो आवाज

काठमाडौं। चितवनको सिमलताल दुर्घटनाको उद्धारको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत चेनसङले मजाक उडाउने काम गरेको भन्दै सांसदले आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा लोसपा सांसद सर्वेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतको नाम नलिई कूटनीतिक मर्यादाविपरीतको काम भएको आरोप लगाएका हुन् ।

‘दुर्घटनामा हराएका सबैजनाको गाउँ शोकमग्न रहेको बेला एकजना महामहिमले खोजी कार्यको मजाक उडाएका छन्- एक्सको पोस्टमा,’ सुक्लाले भने, ‘यो कृत्य कुनै पनि देशको कूटनीतिक मर्यादाविपरीत हो । नेपालको नेतृत्वमा भइरहेको खोजी कार्यको मजाक उडाउने काम निन्दनीय छ ।’

नेपालका लागि चिनियाँ राजदूत छङले पछिल्लो समय सिमलताल दुर्घटनाका समाचारको बारे एक्स (ट्विटर)मा लेखिरहेका छन् ।

‘नेपाली सुरक्षाकर्मीको नेतृत्वमा भारतीय विज्ञसमेत अहोरात्र खटिएको कार्यको मजाकपूर्ण ढंगले टिप्पणी गर्नु आपत्तिपूर्ण छ ।​ यसलाई नोटिसमा लिनुपर्छ र कूटनीतिक तरिकाले निदान खोजेर यस्ता गतिविधि रोकिनुपर्छ ।’भारतीय विज्ञले ल्याएको चुम्बक हराएको सम्बन्धमा चिनियाँ राजदूतले विभिन्न टिप्पणी गरेका थिए ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

 

बसमा सवार ६५ जनामध्ये तीन जना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।हालसम्म २४ जनाको शव भेटिएको छ ।तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन ।३८ यात्रु र बस अझै भेटिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस