बाँके। साउन महिनाको दोस्रो हप्तासम्म पनि पर्याप्त वर्षा नहुँदा बाँकेमा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् ।
रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताए ।
सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उनको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिए ।बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ सके पनि वर्षा नहुँदा खेतमा धजा फाट्न शुरू भएको हिरमिनियाका किसान अशोक थापाले बताए ।
आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताए । सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १४ : १६
लेखकबाट थप