चितवनमा जितिया महोत्सव : ‘थारु समुदायलाई हेप्ने दिनको अन्त्य’

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०७५, १६ : ४६
चितवनमा जितिया महोत्सव : ‘थारु समुदायलाई हेप्ने दिनको अन्त्य’

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं २७ पर्साढापमा थारु कल्याणकारिणी सभाले धुमधामले जितिया उत्सव मनाइएको छ । थारु समुदायको महत्वपूर्ण चाड जितियाको अवसरमा चितवनका थारु समुदायले उत्सव नै मनाएका हुन् ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले भरतपुर महानगरस्तरीय जितिया उत्सवको उद्घाटन गर्नुभएको  थियो । उत्सवको उद्घाटन गर्दै राज्यमन्त्री थारुहरुलाई विगतमा राज्य र समाजबाट हेपिएको बताउँदै अब ती दिनको अन्त्य भएको बताउनु भएको छ ।

चितवन त्यसमा पनि भरतपुर थारू समुदायको संस्कृति र भेषभुषामा अत्यन्तै धनी रहेको बताउँदै उहाँले यसको संरक्षण र विकासमा लाग्न सम्पूर्ण थारू समुदायलाई आग्रह गर्नुभयो ।  थारू समुदायमा जितिया पर्वको साँस्कृतिक महत्व रहेको बताउँदै मन्त्री चौधरीले सम्पूर्णलाई जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।  उहाँले सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारालाई सार्थक पार्न योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले निर्मला पन्तदेखि अन्य आपराधिक घटनामा संलग्नहरू छिट्टै कारवाहीको दायरामा आउने बताउनुभयो । शान्ति सुरक्षा अमनचयन कायम राख्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै उहाँले यसमा समाजको दायित्व पनि उत्तिकै रहने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले थारु समुदायका महिलाहरुको महान जितिया पर्व साँस्कृतिक संरक्षणमा महत्वपूर्ण हुने भन्दै जितिया पर्वको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रचलित धर्म, सँस्कृतिको रक्षा, जगेर्ना र प्रवद्र्धन गर्न यस महोत्सव सार्थक हुने विश्वास गर्नुभयो ।  यस्ता मेला महोत्सव र पर्वहरु साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण माध्यम हुने र यस्ता साँस्कृतिक मेला पर्वहरुले समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्ध कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

महानगर प्रमुख दाहालले चितवनमा थारु सँस्कृति, झम्टा, लठ्ठी नाच र थारु समुदायको खानाको परिकारले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको लक्ष लिएर अगाडि बढिरहेको बताउँदै महानगर प्रमुख दाहालले रिङगरोड लिंक रोड सिटीहल र अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला महानगरको गौरवको आयोजना भएको बताउँदै केही सुरू भइसकेको र बॉकी तयारीमा रहेको बताउनुभयो ।

कृषि, पर्यटन शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको समुचित विकास गरेर मात्र भरतपुर महानगरको समृद्धिको यात्रा पूरा हुने प्रमुख दाहालको भनाइ थियो । कार्यक्रममा प्रदेस सभासद मिलनबाबु श्रेष्ठ, रामलाल महतो, कृष्ण भुर्तेल, बलराम पौडेल, रिना गुरुङलगायतले थारू समुदायका अगुवाहरूले थारू संस्कृति र जितिया उत्सवको शुभकामना दिनुभएको थियो । महोत्सवमा थारू संस्कृति झल्कने गीत, नाच तथा आकर्षक झॉकीहरू प्रस्तुत गरेका थिए । महोत्सव परिसरमा थारूसमुदायको परम्परागत खाना, पोशाक  र भेषभुषाहरु प्रदर्शन गरिएको थियो । प्रत्येक वर्ष आस्बिन १५गते थारू समुदायले जितिया पर्वलाई महोत्सवका रूपमा मनाउने गर्दछन् । भरतपुर महानगर अन्तर्गतका थारू समुदायका महिला तथा पुरूषहरू थारू समुदायको संस्कृति झल्कने भेषभुषामा सजियर महोत्सवमा सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस