सुदूरपश्चिम कांग्रेस संसदीय दलको चेतावनी– नियमभन्दा बाहिर गएर बजेट ल्याए मान्य हुँदैन

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १५ : ०७
सुदूरपश्चिम कांग्रेस संसदीय दलको चेतावनी– नियमभन्दा बाहिर गएर बजेट ल्याए मान्य हुँदैन

काठमाडौं। सुदूरपश्चिम–नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने चेतावनी दिएको छ ।

मंगलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१–८२ को सरकारको नीति तथा कार्यक्रमजस्तै ढङ्गले बजेट ल्याइएमा कांग्रेसले प्रतिवाद गर्ने बताए ।

बजेटको तयारी मन्त्री र नेताको सचिवालयका कार्यकर्ता तथा विचौलियाको प्रभावमा नभई मन्त्रालयको प्रक्रिया, विधि, पद्धति र नियममा बसेर बजेट निर्माण गर्न सरकारलाई सचेत गराउने निर्णय भएको उनले जानकारी दिए ।

कांग्रेसले आगामी आर्थिक वर्षका लागि अनावश्यकरुपमा बजेटको आकार बढाएर आफ्ना सांसद र कार्यकर्तालाई थम्थम्याउने काम नगर्न पनि सचेत गराएको छ ।प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जोगाउने नाममा मन्त्रालय फुटाएर आर्थिक व्ययभार थप्नेगरी मन्त्री नियुक्त गर्ने कुराको विरोध गर्ने पनि शाहले बताए । 

प्रतिक्रिया दिनुहोस