काठमाडौं : दशैं नेपालीहरुको घरदैलोमा आइसकेको छ । नेपालीको महान चाड दशैंको तयारी हरेक घर घरमा सुरु भइसकेको छ ।
मिठो खाने, राम्रो लाउने र परिवारसँग समय व्यथित गर्ने पर्व दशैंलाई लक्षित गरी नेपाल खाद्य संस्थानले दशैं लक्षित सेवा शुक्रबारदेखि सुरु गर्दैछ । संस्थानले दशैं तिहार र छठमा देशभर खाद्य संकट नहुने प्रष्ट पारेको छ ।
दशैं, तिहार र छठसमेतका लागि संस्थानले राजधानीका तीन स्थानमा सुपथ मूल्य पसल आफैंले सञ्चालन गर्दैछ । अन्य स्थानमा पनि सरकारका अन्य संस्थाहरुसँग सहकार्य गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने बताएको छ । सरकारले परिभाषित गरेका २३ दुर्गम जिल्लाहरुमा समेत खाद्यान संकट नहुने र गोदाममा प्रशस्तमात्रामा चामल स्टक रहेको संस्थानले जानकारी दिएको छ ।
नेपाल खाद्य संस्थान दुर्गम जिल्लाको लागि खाद्यान्न वितरण गर्ने र संकटको समयमा देशभर आवश्यकता अनुरुप खाद्यान्न पु¥याउने सरकारको आधिकारिक निकाय हो । संस्थानले सरकारले दिएको म्यान्डेड अनुसार वार्षिक कार्यक्रम सञ्चालन गर्ने गर्दछ । त्यसको अतिरिक्त संस्थानले चाडपर्व लक्षित कार्यक्रमहरु पनि सञ्चालन गर्ने गर्दछ ।
खाद्य संस्थानको मेची देखि महाकालीसम्म नै शाखा र गोदामहरु छन । खाद्य संस्थानले सरकारले अनुदान दिएका २३ दुर्गम जिल्लाहरुमा सहुलियत दरमा खाद्यान्न पु¥याउने गर्दछ । यस बर्ष पनि सरकारले त्यस्तो ढुवानीको लागि ४४ करोड अनुदान दिइसकेको छ । यसका अतिरिक्त सरकारले सुगम जिल्लामा अन्य कार्यहरु पनि गर्दै आएको छ ।
सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिनका लागि दशैं लक्षित सुपथ मूल्य पसल संचालन गर्न लागेको हो । संस्थानले यस पटक थापाथली कोटेश्वर र रामशाहपथमा आफैंले सुपथ मुूल्यको पसलहरु सञ्चालन गर्न लागेको जनाएको छ ।
खाद्य संस्थानमै चामलको प्रशस्तमात्रामा मौज्दात रहेकाले कुनै पनि दुर्गम जिल्लामा चाडपर्वको मुखमा समस्या नरहेको खाद्य संस्थाले प्रष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस