बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ : गभर्नर अधिकारी

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १९ : २७
बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको प्रस्ट्याएका छन् ।

बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा मंगलबार संघीय संसद्‌मा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए । गभर्नर अधिकारीले कानुनअनुसार नै माघमा गरिएको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकास क्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे ।

उनले भने, ‘बजेट बनाउने क्रममा स्रोत अनुमान समितिको सिफारिसलाई बेवास्ता पो गरियो कि भन्ने जस्ता प्रश्न उठ्यो । म स्रोत अनुमान समितिको सदस्य भएका नाताले नै यसको जवाफ दिनुपर्छ कि रु हामीले स्रोत अनुमान गरिराख्दा समितिले माघको १५ गते जुन सिफारिस गरेको थियो । त्यस अनुमानमा केही परिमार्जन भएका छन् । मंगलबार जुन बजेट आएको छ । त्यो बजेटको आकार पनि नयाँ सिलिङभित्र नै छ । ’

उनले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानुनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस