आगामी चुनावअघि नै संविधानको पुनरावलोकन गर्नुपर्छ : नेता सिटौला

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १५ : ३२
आगामी चुनावअघि नै संविधानको पुनरावलोकन गर्नुपर्छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको पुनरावलोकन गरेर जानुपर्ने मत राखेका छन् । बुधबार काठमाडौँमा आयोजित ‘गणतन्त्रका १६ वर्ष, नागरिकको अनुभूति, सुशासनको प्रत्याभूति’ विषयमा कार्यक्रममा उनले संविधान पुनरावलोकनको आवश्यकता औँल्याएका हुन् ।

‘आगामी निर्वाचनमा पुग्नुभन्दा अगाडि संविधानमा के–के सुधारको आवश्यक छ ? अध्ययन र समीक्षा गरौँ । त्यसपछि संविधानको पुनरावलोकनका लागि तयार हुनुपर्छ ,’ सिटौलाले भने ।

उनले गणतन्त्रको १६ वर्षे अवधिको पनि मूल्याङ्कन गर्नुपर्ने बताए । ‘पहिलो पाँच वर्ष खेर गयो । संविधान बनेपछि कार्यान्वयनका लागि राज्यका निकायले कसरी काम गरिरहेका छन् ? राज्य सञ्चलनका दृष्टिकोणले संविधानमा के के सच्याउनुपर्छ, के के थप्नुपर्छ नेपाली कांग्रेस तयार हुनुपर्छ,’ उनले भने, ‘संविधानले नागरिकको पक्षमा काम गर्न कहाँ बाधा पुर्‍याएको छ । त्यो हेर्नुपर्छ । नागरिकको पक्षमा काम हुने गरी संविधानमा पुनरावलोकन गर्नुपर्छ ।

सरकारसँग जोडिएका निकाय र संवैधानिक परिषद्ले गरेका कामको पनि समीक्षा गर्न आवश्यक रहेको सिटौलाले बताए । ‘गणतन्त्र आएपछि सबै क्षेत्रका विकास भएको छ। तर संविधानको स्प्रीड अनुसार विकास भएको छैन,’ उनले भने ।

कांग्रेसको १५ औँ महाधिवेशनमा एउटा विचार बोकेर एकताबद्ध भई जानुपर्ने सिटौलाले बताए । ‘आगामी महाधिवेशन हुन एक–डेढ वर्ष बाँकी छ । आगामी महाधिवेशनमा एउटा विचार बोकेर एकताबद्ध भई जानुपर्छ । कांग्रेस जनतासँग जोडिन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस