प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानव अधिकार आयोग

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १९ : ३४
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर : मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको छानबिन निष्पक्ष गर्न पनि ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकताको विषयलाई लिएर हिजो गिरफ्तार गरिएको र सो गिरफ्तारी कान्तिपुर ग्रुपका मिडियाहरूमा केही दिनदेखि निरन्तर प्रकाशित समाचारसँग जोडिएको भनी विभिन्न कोणबाट प्रकाशन तथा प्रसारण भइरहेका समाचारहरूप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उक्त घटनाको सम्बन्धमा बुधबार आयोगको केन्द्रीय कार्यालयको टोलीले कान्तिपुर प्रकाशनगृहमा पुगी अनुगमन गरेको थियो । आयोगको मधेश प्रदेश कार्यालय जनकपुरबाट खटिएको टोलीले अध्यक्ष सिरोहियालाई धनुषास्थित प्रहरी हिरासतमा गई भेटेको थियो । त्यसपछि प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्ने वातावरणको सुनिश्चितताका लागि संविधान प्रदत्त अन्तर्राष्ट्रिय कानूनद्वारा प्रत्याभूत अधिकारको संरक्षण गरी छानविनलाई निष्पक्ष बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार लोकतन्त्रका आधारस्तम्भ रहेको आयोगले उल्लेख गरेको छ ।