लगानी बोर्ड र चिनियाँ ह्वासिन सिमेन्टबीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर

बुधबार, १२ पुस २०७४, १८ : ४८
लगानी बोर्ड र चिनियाँ ह्वासिन सिमेन्टबीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर


काठमाडौं । लगानी बोर्ड र ह्वासिन सिमेन्ट कम्पनी अन्तरगर्तको ह्वासिन सिमेन्ट नारायणी प्रालिबीच परियोजना लगानी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित एक समारोहमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र कम्पनीका समुद्रपार विकास निर्देशक ल्यू च्याङ्गाबीच प्रारम्भिक हस्ताक्षर भएको हो ।

बोर्डले उक्त कारखाना निर्माण गर्नका लागि २०७२ साल पुस ५ गते करिब १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सतप्रतिशत चिनियाँ लगानीमा स्थापना हुने उक्त कारखानाको लागि नेपाल सरकारले हालै धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन् गर्न अनुमति समेत प्रदान गरिसकेको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकारीले उक्त कम्पनीसँग भएको वार्ता र प्रारम्भिक सम्झौताले नेपालमा वैदेशिक लगानीका लागि अनूकुल वातावरण तयार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस