किन्ताङफेदीमा बेली ब्रिज निर्माण

रासस

सोमबार, १७ बैशाख २०८१, १२ : ०४
किन्ताङफेदीमा बेली ब्रिज निर्माण

मलेखु (धादिङ) । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोरो गराउन थालिएको छ । 

उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने पुलको आइतबार सङ्घीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे । 

खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो । 

वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरू अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताए । 

कूल रु एक करोड १० लाखको लागतमा सो पुल निर्माण गरिएको हो । पुल निर्माणको खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गङ्गाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।  धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेँसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उनको भनाइ छ ।

ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी छन् । “पुल बनेपछि  हामीलाई घरकै ढोका खुलेकोजस्तै अनुभव भइरहेको छ”, स्थानीय प्रकाश तामाङले भने–“सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौँ । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने धोको पूरा हुने भएको छ ।” 

नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्रि ए र थ्रि बिको स्वामित्वमा रहेको बेली ब्रिज बेत्रावतीबाट ल्याएर किन्ताङफेदीमा जडान गरिएको हो । गत असोज १२ गते शिलान्यास भएसँगै नेपाली सेनाको १४ नम्बर बाहिनीअड्डाको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।

Tags :  

प्रतिक्रिया दिनुहोस