गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई पूर्वाधार मन्त्रालयको जिम्मेवारी

सफल खबर संवाददाता

शनिबार, ०८ बैशाख २०८१, ११ : ०७
गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । बिना विभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको हो । सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए ।

चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गरेका थिए । तर, विश्वासको मत पाउने अवस्था नभएप्छि लिएनन् ।

सरकारको नियमित काम र बजेटको तयारी गर्नकै लागि पनि शनिबारै चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । दुई मन्त्रीको जिम्मेवारी बाँडफाँट गरेलगत्तै मुख्यमन्त्री अधिकारी काठमाडौं पुगेका छन् ।

अधिकारीले मन्त्रालय फुटाएर ९ वटा पुर्‍याएका छन् । बाँकी ७ वटा मन्त्रालय मुख्यमन्त्रीकै मातहत छ ।