राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, १५ : ४८
राजनीतिक मुद्दा मिल्ने शक्तिसँग सहकार्य गर्ने नेसपाको निर्णय

काठमाडौँ। डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।महाधिवेशन आयोजक समितिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा आज पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

'जनजीविकाका सवाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्न नीति, विचार, कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गरिनेछ', नेसपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै त्यसका लागि नेसपाले प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङ्तान र मानुषी यमि भट्टराई सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ ।यस्तै, नेसपाले २०८१ वैशाखदेखि भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

संघ, प्रदेश र स्थानीय स्तरमा वैकल्पिक राजनीति र यसका आयामहरूबारे नेतृत्व सबलीकरण र वैचारिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, वैशाख २८ र २९ गते काठमाडौंमा केन्द्रीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने नेसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस