पर्यटन प्रवर्द्धनका लागि शुरू भयो सुनौली-मुक्तिनाथ धार्मिक यात्रा

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, १३ : ४०
पर्यटन प्रवर्द्धनका लागि शुरू भयो सुनौली-मुक्तिनाथ धार्मिक यात्रा

बुटवल। पर्यटन प्रवर्द्धन गर्न शुक्रवारबाट सुनौली-मुक्तिनाथ धार्मिक मार्ग यात्रा शुरू भएको छ ।कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा नेपाल-भारत सिमानाको सुनौलीबाट शुरू गरिएको यात्राको प्रतिनिधि सभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले शुभारम्भ गरेका हुन् ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन धार्मिक मार्ग यात्राका आयोजना गरिएको हो ।यात्रा शुभारम्भ गर्दै सांसद घिमिरेले पर्यटन प्रवर्द्धनका लागि यस प्रकारका अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई यहाँको सडक सरसफाइ, हरियाली, लाइटिङलगायतबाट प्रभावित बनाउन पालिकाहरूले मिलेर एकीकृतरूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

पहिलोपटक सुनौली–रुरु क्षेत्र र रुरु क्षेत्र–मुक्ति क्षेत्रको यात्रा गर्न लागिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।शुक्रवार धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्रमा पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुनेछ ।

 

रुरु क्षेत्रमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधिबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने पन्तले बताइन् । शनिबार रुरु क्षेत्रबाट मुक्तिनाथको लागि प्रस्थान गरिनेछ । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गर्ने कार्यक्रम छ ।

यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ । रुरु क्षेत्रमा परापूर्व कालदेखि रहेका धामलाई प्रवर्द्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष पन्तले बताइन् ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दू धर्मावलम्बीले पुज्ने गर्दछन् । धार्मिक पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने आयोजकको दाबी छ । शालिग्राम महोत्सव वर्ष अन्तर्गत आगामी कात्तिकमा शालिग्राम महायज्ञ आयोजना हुनेछ ।महायज्ञमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसहित धार्मिक गुरुहरूलाई निमन्त्रणा गर्ने र धार्मिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरी २५ वटा कार्यक्रम गरिने अध्यक्ष पन्तले बताइन् । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठी, सभा सम्मेलन हुनेछ ।महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्रमा ल्याउने लक्ष्य राखिएको छ । चैत्रमा शालिग्राम महोत्सव २०८१ को समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस