थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको हर्क साङपाङको आरोप

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १९ : ४३
थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको हर्क साङपाङको आरोप

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको आरोप बताएका छन् ।पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता गराउन खोजेको साङपाङले दाबी गरेका हुन् ।

इलाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साङपाङले पैसासँग पहिचान कसैले बेच्न नहुने तर्क गरे । उनले भने, ‘पहिचानवादीको इतिहास लेख्न एउटा अक्षरको रूपमा तपाईँ जोडिनुहोला । जसरी इतिहास लेख्न धरानबाट आएर एउटा अक्षरको रूपमा म जोडिएको छु ।’

थेगिमको चुनावी सभामा बोल्दै भद्रप्रसाद (स्वागत) नेपालले दलहरूलाई ठगको संज्ञा दिए । प्रतिनिधि सभा निर्वाचनमा सभामुख देवराज घिमिरेसँग स्वतन्त्र उम्मेदवारको रूपमा झापामा प्रतिस्पर्धा गरेका नेपालले ‘ठग व्यवस्था’को अन्त्यको लागि थेगिमको समर्थनमा उभिएको बताए ।

आख्यानकार युग पाठकले समेत थेगिमको पक्षमा मत मागे । लामो समयदेखि राज्यसत्तामा बसेकाहरूले जनताको ‘शीर ढाल्ने काम’ गरेकोले नै पहिचानको पक्षमा आफू उभिएको पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस