सुशासन र विकास कांग्रेसको ‘एजेन्डा’ बन्नुपर्छ : गगन थापा

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १४ : ३०
सुशासन र विकास कांग्रेसको ‘एजेन्डा’ बन्नुपर्छ : गगन थापा

धनगढी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास र सुशासन पार्टीको मुख्य ‘एजेन्डा’ हुनुपर्ने बताएका छन् ।‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

विकासका सवालमा दलहरूबीच राष्ट्रिय बहस गरी साझा धारणा बनाउनुपर्ने, भ्रष्टाचार निर्मूल गर्न र कानूनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।पार्टीको एजेन्डा २०८४ का लागि नभई आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने उनले बताए ।

'वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुवाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ', उनले भने ।

पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्‍याउने उनले बताए ।पार्टी सञ्चालन प्रक्रिया त्रुटिपूर्ण हुँदा पार्टीमा गुट उपगुटको समस्या देखिएको भन्दै उनले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस