बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १३ : १४
बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ मा आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ । मंगलबार सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलसहित प्रदेश समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकले माओवादीका उम्मेदवार जनकराज बुढालाई सहयोग गर्न गठबन्धनका अन्य दललाई आग्रह गरेको हो ।

बुढा संविधानसभा सदस्य र सुदूरपश्चिम प्रदेशका सचिव रहेका व्यक्तिलाई उम्मेदवार बनाएकोले उम्मेदवारी फिर्ता नलिने इन्चार्ज पोखरेलले जानकारी दिए ।

‘हाम्रा उम्मेदवारलाई समर्थन गर्न सत्ता गठबन्धन दलहरूलाई आग्रह गरेका छौँ । उहाँ संविधानसभा सदस्य, पार्टी सचिव र योग्य व्यक्तिलाई उम्मेदवार बनाएकाले उम्मेदवारी फिर्ता हुने छैन । वामपन्थी सहकार्य अन्तर्गत सहयोग गर्ने अपेक्षा लिएका छौँ’, पोखरेलले बताए ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले शनिबार उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारले उम्मेदवारी फिर्ता लिनका लागि निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस