भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, ११ : २६
भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात

नयाँ दिल्ली । भारत सरकारले लामो समयदेखि प्याजको निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ । तर प्रतिबन्धको बिच पनि त्यहाँबाट हजारौँ टन प्याज निर्यात भइरहेको छ । संयुक्त अरब इमिरेट्सलगायत देशमा सरकारको अनुमति लिएर प्याज पठाइँदै आएको छ । पछिल्लो समय विश्वभर प्याजको भाउ बढेको छ । तर भारतबाट यस्ता देशमा सस्तो मूल्यमा प्याज आपूर्ति भइरहेकाले किसान र व्यापारी आक्रोशित भएका छन् ।

भारतीय किसानले एक किलो प्याजको लागि १२ भारुदेखि १५ भारु मात्रै भुक्तानी पाइरहेका छन् । तर युएईमा पुगेपछि त्यही प्याजको मूल्य प्रतिकिलो १२० भारु हुने निर्यातकर्ताको गुनासो छ । प्याज निकासीमा प्रतिबन्ध हुँदा हुँदै पनि छानिएका केही देशलाई भारत सरकारले प्याज किन बेचिरहेको छ ? त्यहाँको सरकारले कूटनीतिका लागि प्याज प्रयोग गरिरहेको हो ? सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएदेखि नै किसानहरूले यसको घोर विरोध गर्दै आएका छन् । प्रतिबन्धको घोषणापछि महाराष्ट्रमा किसानहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन नासिकको लासलगाउँ, नन्दगाउँ, पिम्पलगाउँ र उमारानेमा भएका थिए । यी सबै भारतको प्याज उत्पादनका केन्द्र हुन् ।

प्याज राजनीतिक रूपमा संवेदनशील बाली हो । प्याजको मूल्य भारतमा समय–समयमा चुनावी मुद्दा पनि बनेको छ । चुनावमा प्याजको सबैभन्दा प्रत्यक्ष प्रभाव सायद सन् १९९८ मा देखिएको थियो । त्यो वर्ष दिल्ली विधान सभा चुनावमा बीजेपीले पराजय बेहोर्‍यो । यसमा प्याजको उच्च मूल्यको भूमिका रहेको विश्वास गर्ने गरिएको छ । मुलुकमा प्याजको अभाव हुने डरले सरकारले डिसेम्बरमा प्याजको निर्यातमा रोक लगाएको थियो । गत महिना यो प्रतिबन्ध अर्को आदेश जारी नभएसम्मका लागि लम्ब्याएको थियो । तर, भारत सरकारले कूटनीतिक माध्यमबाट प्याजको मागलाई स्वीकार गरिरहेको छ ।

प्रतिबन्धबिच युएई पठाइयो प्याज

द हिन्दू अखबारका अनुसार केन्द्र सरकारले मार्च १ मा संयुक्त अरब इमिरेट्स (यूएई)लाई १४ हजार ४०० मेट्रिक टन प्याज निर्यात गर्न अनुमति दिएको थियो । यससँगै सरकारले तीन महिनामा ३ हजार ६०० मेट्रिक टनभन्दा बढी निकासी गर्न नहुने सर्त पनि राखेको थियो । गत महिना तीन हजार टनभन्दा बढी प्याज निर्यात गर्न स्वीकृति दिइएको छ । यसबाहेक वाणिज्य मन्त्रालयले गत साता युएईलाई अलग्गै १० हजार मेट्रिक टन प्याज लैजाने अनुमति दिएको छ ।

निकासीमा प्रतिबन्ध लगाएको भएपनि युएई बाहेक अन्य धेरै देशमा भारतले प्याज पठाइरहेको खबर आएका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारतले बंगलादेशमा ५० हजार टन, भुटानमा ५५० टन, बहराइनमा ३ हजार टन र मौरिससलाई १ हजार २ सय टन प्याज निर्यात गर्न अनुमति दिएको छ । सामान्यतः विश्व बजारमा प्याजको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म रहन्छ । तर, पछिल्ला महिनामा युएई जस्ता प्रमुख बजारमा मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । भारत, पाकिस्तान र इजिप्टले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्य बढेको हो ।

 हालै युएईतर्फ प्रति टन ५०० देखि ५५० डलरको दरले प्याज पठाइएको छ । भारतीय रुपयाँमा कुरा गर्ने हो भने प्रतिकिलो प्याजको मूल्य ४५ देखि ५० सम्म पर्छ । अखबारका अनुसार भारतबाट प्याज किन्ने युएईका आयातकर्ताले ३ सय करोड भारु भन्दा बढी नाफा कमाएका छन् । युएईमा १० हजार मेट्रिक टन प्याज जाँदा आयातकर्ताले करिब एक हजार करोड रुपैयाँ नाफा कमाउने अनुमान छ ।

प्याजको यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत मात्रै भइरहेको छ । एनसीईएल सहकारी मन्त्रालय अन्तर्गतको सरकारी स्वामित्वको संस्था हो । प्याजको निर्यात निजी क्षेत्रले गर्दैनन् । यो सरकारले सरकारलाई गर्ने हो । यस प्रक्रियामा, प्याज आयात गर्ने सरकारले आयातकर्ताका लागि कोटा निर्धारण गर्दछ । त्यस्ता निकासीका लागि कृषि बजार पोर्टलमा ई–टेन्डरिङ मार्फत खरिद गर्नु पर्छ ।

तर युएईबाट प्याज खरिदमा निजी क्षेत्रको संलग्नता रहेको पाइएको छ । बागवानी उत्पादक निर्यातकर्ता संघले प्याज निर्यात गर्ने प्रक्रिया र मूल्य निर्धारणबारे भारत सरकारसँग स्पष्टीकरण मागेको छ । एनसीईएललाई पठाएको पत्रमा एशोसिएशनले अन्तर्राष्ट्रिय मूल्यभन्दा कम मूल्यमा विदेशमा प्याज बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस