सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, ११ : ००
सदनको अवरोध खुलाउन बालुवाटारमा सभामुखसहित तीन दलसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखसहित प्रमुख दलका नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख देवराज घिमिरेसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापा तथा नेता कृष्णप्रसाद सिटौला सहभागी छन्।

बैठकमा सहज ढंगले सदन सञ्चार गर्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख घिमिरे आफ्नै दिदीको निधन भएकोले झापा जाने कार्यक्रम रद्द गरेर छलफलमा सहभागी भएको उनको सचिवालयले जनाएको छ । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन्।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आजको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने सम्भावना छ । ​सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले सरकारलाई यसअघि नै अल्टिमेटम दिएको थियो । तर, सरकार समिति बनाउन तयार भएको छैन । कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।

कांग्रेसले चैत २७ गतेसम्म लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद् बैठक चल्न नदिने चेतावनी दिएको थियो । गत बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी बैठकसम्म समिति नबनाए संसद्को कामकारबाही नै अवरोध गर्ने चेतावनी दिएका थिए ।

सभामुख देवराज घिमिरेले सोमवार आयोजना गरेको चार दलका शीर्ष नेताको बैठकमा सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेको थियो ।  कांग्रेसले संसदीय छानबिन समिति गठनको माग आफूहरूको न्यूनतम सर्त रहेकाले गठन नभए संसद् चल्न नदिने अडान राखेको थियो । 

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाएको छ । 

प्रतिक्रिया दिनुहोस