सहकारीको समस्या समाधानमा सहकारी संघ चितवनले अगुवाई गर्नुपर्छ : प्रमुख दाहाल

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १९ : ४०
सहकारीको समस्या समाधानमा सहकारी संघ चितवनले अगुवाई गर्नुपर्छ : प्रमुख दाहाल

चितवन । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सहकारी देखिएको समस्या समाधानको लागि चितवन जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्ने बताएकी छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख दाहालले सहकारीमा देखिएको बेथिति अन्त्य गर्न भरतपुर महागनर पनि सकारात्मक रहेको उल्लेख गरेकी हुन् ।

सहकारीको जननी चितवन र भरतपुर–१९ साबिकको बखानपुर भएकाले यहाँबाट देशलाई सुशासनको सन्देश दिनुपर्ने प्रमुख दाहालले बताइन् । हरेक वर्षको चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा विसं २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो ।

महानगरपालिकाले यहाँ रहेका ३६३ वटा सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रकृयालाई अगाडि बढाएको उनले बताए । सहकारीलाई नियमन गर्ने विषयमा स्थानीय निकायलाई सीमित अधिकार दिइएकाले पूर्णरुपमा नियमन गर्न नसकिएको प्रमुख दाहालले बताइन् । महानगरपालिकाले सहकारी क्षेत्रको विकास गर्न बर्सेनि ठूलो बजेट बिनियोजन गर्ने गरेको प्रमुख दाहालले बताइन् ।

महानगरपालिकाले विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर ३ रुपैयाँ अनुदान दिँदै आएको उनले बताइन् । महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाइजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ ।

सहकारीले देशको आर्थिक र सामाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीलाई थप उत्पादनमुखी बनाउनुपर्नेमा प्रमुख दाहालले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भएमात्र कुनै पनि समस्या नआउने बताए ।

चितवनमा बाहिरी जिल्लाबाट आई सहकारी बिस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाउँमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराइज जस्ता सहकारीमा समस्या देखिएको उनको भनाइ छ । अहिले चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको उनले प्रष्ट पारिन् ।

 

 

प्रतिक्रिया दिनुहोस