बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १८ : ४५
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो ।

२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन् ।

प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका बेला ओली संवैधानिक परिषदका सदस्य थिए भने अहिले देउवा सदस्य रहेका छन् ।