समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ : झलनाथ खनाल

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १६ : १४
समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन् । आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत् होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन् । उनले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए । उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रूपमा रूपान्तरण गर्न सकिने बताए । खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए ।

उनले भने, ‘सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ । त्योभन्दा अगाडी पूरा हुन सक्दैन । त्यसैले यो दिशामा जानुपर्छ । युवाहरूले नै देश बनाउनुपर्छ । हाम्रो देशका युवाहरू एकजुट, एकताबद्ध हुनुहुनेछ । र साम्राज्यवादी शक्तिहरू, प्रभुत्ववादी शक्तिहरू, हस्तक्षेपकारी शक्तिहरूका विरुद्ध र यो देशमा शोषण गरिरहेका, दमन गरिरहेका, अत्याचार गरिरहेका, दलाल पुँजीवादी शक्तिहरूका विरुद्ध तपाईँहरू एकजुट हुनुहुन्छ र आम जनतालाई एकताबद्ध गराउनुहुनेछ । यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू बन्नुहोस् । तर भ्रष्टाचारी कहिल्यै नबन्नुहोस् । स्वच्छ हृदय, स्वच्छ चरित्रका नेताहरू नेता, अध्येता, इन्जिनियर र डाक्टरहरू बन्नुहोस् ।’

सम्मानित नेता खनालले देशका युवाहरू साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरूका विरुद्ध एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए । उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरूका विरुद्ध पनि आम जनतालाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । उनले विद्यार्थीहरूलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गरे ।