गृहमन्त्री लामिछानेको राजीनामा माग्नु कांग्रेसको राजनीतिक पूर्वाग्रह : एमाले

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १५ : ३३
गृहमन्त्री लामिछानेको राजीनामा माग्नु कांग्रेसको राजनीतिक पूर्वाग्रह : एमाले

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको विषय राजनीतिक पूर्वाग्रह भएको टिप्पणी गरेका छन् ।​​रविविरुद्ध अहिलेसम्म राज्यको नियामक निकायमा औपचारिक उजुरी दर्ता भइनसकेको उनले बताए ।

आइतवार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सुनाउने क्रममा ज्ञवालीले औपचारिक रुपमा उजुरी दर्ता भएमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।‘विगतमा हामीले उठाएको र अहिले कांग्रेसले उठाइएको विषय फरक छ ।

सरकारले बनाएको छानबिन आयोगले दोषी देखाएका एक मन्त्रीको राजीनामा मागेका थियौं । अर्को मन्त्रीलाई बयानका लागि अख्तियारले बोलाइसकेपछि न्यूनतम नैतिकता नदेखाइ झण्डा हल्लाएर गएको विषय थियो’, ज्ञवालीले भने, ‘अहिलेका गृह मन्त्रीविरुद्ध त्यो लेबलको उजुरी मुद्दा दायर भएको छैन, नियामक निकायले बोलाएको छैन ।’

 

 

लामिछाने सम्बन्धमा कांग्रेसको द्वैध भूमिका देखिएको ज्ञवालीले टिप्पणी गरे ।‘प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेपछि कांग्रेसले नै प्रधानमन्त्रीको अफर गरेको मान्छे गृहमन्त्रीका लागि अयोग्य हुन्छ भन्नु द्वैध भूमिका भयो’, ज्ञवालीले भने, ‘औपचारिक निकायमा उजुरी दर्ता भएमा मार्ग प्रशस्त गर्नुपर्छ । कोही दोषी देखिए एमालेले ढाकछोप गर्दैन ।’

सहकारी ठगीमा जोडिएका लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरुद्धको चेतावनी दिएको छ ।‘राजनीतिक प्रतिशोधको आधारमा संसद् अवरुद्ध गर्नु जिम्मेवार कदम हुन सक्दैन’, ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस