एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १९ : ०४
एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरु गरेको छ ।

सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरु गरेको हो । पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप दिइने छ ।

त्यस्तै भेरी अस्पतालमा चैत ६, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा चैत ८ र डडेलधुरा अस्पतालमा चैत १५ बाट एचपीभीको दोस्रो मात्रा दिइने छ । एचपीभी दोस्रो मात्राको खोप लिन जाँदा अनिवार्य खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीतिअनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस