प्रिमियर शोमा रुचाइयो ‘महाजात्रा’

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १० : २५
प्रिमियर शोमा रुचाइयो ‘महाजात्रा’

काठमाडौ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ। बुधबार साँझ गरिएको प्रिमियरमा फिल्म हेर्ने पुगेकाले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन्। षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिक्वेल हो। 

प्रिमियर शोमा कलाकार मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला लगायतको उपस्थिति थियो। त्यसैगरि, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिए।

कलाकार  मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहदा समय वितेको पत्तै नपाएको बताए। फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरे। 

‘फिल्म राम्रो र रमाइलो बनेको छ। कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ। यसले संदेश दिन्छ तर जात्राकै शैलीमा। परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ’, श्रेष्ठले भने।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र संदेशमुलक फिल्म बनेको प्रतिक्रिया दिए। ‘फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिदैन। किनकि समग्रमा नै फिल्म राम्रो बनेको छ । कलाकार पनि निकै मेहनत गरेका छन्। उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्।’

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए। उनले भने, ‘जात्रा देखि नै बनिरहेजो शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन्। एकदमै हास्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ। म महाजात्रा निर्माण समुहलाई धन्यवाद दिन चाहन्छु, एउटा सुन्दर फिल्म हेर्न पाएँ । यहाँ देखाईएको विषय गम्भीर छन् तर प्रस्तुती दर्शकलाई बुझ्ने किसिमले तयार गरिएको छ। यो पर्फेक्ट फिल्म हो।’

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको बताइन्। ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन्। यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन। मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन्, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु’, अभिनेत्री अधिकारीले भनिन्।

त्यसैगरि, हास्यकलाकार जितु नेपाल र किरण केसीले पनि फिल्म मन परेको भन्दै तारिफ गरे।

अभिनेत्री ऋचा शर्माले फिल्म समय सान्दर्भिक बनेको भन्दै परिवारनै हलमा गएर हेर्न मिल्ने फिल्म रहेको बताइन्। ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु। प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ। यसमा कडा म्यासेज, हसाइ हसाइ दिनुभएको छ। हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ’, शर्माले भनिन्।प्रिमियरबाट पाएको प्रतिक्रियाले फिल्म निर्माणटिम दंग भए। प्रिमियरबाट प्राप्त प्रतिक्रिया र फिल्मको शृङ्खलाले बनाएको हाइपको आधारमा नेपालमा यसलाई मल्टीप्लेक्सले उच्च शो दिएका छन्। अधिकाँस हलमा यसको शो समय अनलाइन टिकेट बिक्री सुरू भईसकेको छ। 

प्रतिक्रिया दिनुहोस