माओवादीमा जथाभावी खर्च गर्ने प्रवृत्ति देखियो, कांग्रेसले अर्थतन्त्र जोगाएको होः डा प्रकाशशरण महत

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १५ : १७
माओवादीमा जथाभावी खर्च गर्ने प्रवृत्ति देखियो, कांग्रेसले अर्थतन्त्र जोगाएको होः डा प्रकाशशरण महत

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो कार्यकालमा १० प्रतिशत राजश्व वृद्धि भएको दाबी गरेका छन् ।

मंगलवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर महतले कांग्रेसका कारण गठबन्धन सरकारले औसत् मात्र उपलब्धि गर्न सकेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै यस्तो दाबी गरेका हुन् ।

 

 

बरु नेकपा (माओवादी केन्द्र)बाट सरकारमा गएकाहरूको साधारण खर्चका नाममा जथाभावी खर्च गर्ने प्रवृत्ति देखिएको उनले आरोप लगाए । उनीहरूमा देखिएको जथाभावी खर्च गर्ने प्रवृत्ति आफूले रोक्न खोज्दा समस्या आएको उनको भनाइ थियो ।  

 

 

कांग्रेसका कारण अर्थतन्त्रको गति लिने अवस्था आएको बेला प्रधानमन्त्री प्रचण्डले उल्टै आफूलाई आरोप लगाएकोप्रति महतले चित्त दुखाए । 

‘प्रतिकूल अवस्थामा पनि मेरो पालामा १० प्रतिशत राजश्व वृद्धि भएको छ । एकैपटक ह्वात्तै प्रगति हुने अवस्था थिएन,’ उनले भने, ‘करबाट प्राप्त राजश्वलाई जथाभावी खर्च गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । यसैले आफ्नै पार्टीनिकटले माग्दा पनि पैसा दिएनौँ । सबैलाई समान व्यवहार गर्यौँ ।’ 

आफूले द्वन्द्वका घाइतेलाई सहयोग गर्ने कुरामा पनि कार्यदल बनाएर अघि बढौँ भन्ने प्रस्ताव राखेको उनले बताए ।

‘सुधारको बाटोलाई गति दिने हाम्रो योजना थियो । जथाभावी खर्च गर्ने हो भने हामी अफ्ठयारोमा पर्नेछौं भन्ने बुझेर जथाभावी यस प्रवृत्तिलाई बढावा दिन सकिएन,’ उनले भने । चालु वर्षको बजेटलाई तन्काउने हदसम्म लगेको जानकारी दिँदै महतले यसलाई अझ पपुलिस्ट बनाए अर्को वर्ष देशले धान्न नसक्ने बताए । 

आफू अर्थमन्त्री हुँदा लगानी सम्मेलन भएको स्मरण गर्दै महतले भने, ‘यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलन यसअघि भएको थिएन ।’यसअघि प्रधानमन्त्री प्रचण्डले तत्कालीन अर्थमन्त्री महतका कारण सरकारले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको र पुरानो गठबन्धन तोड्न बाध्य भएको आरोप लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस