बिजुली पुगेपछि पटुकेबासी खुसी

रासस

शनिबार, २६ फागुन २०८०, १२ : १८
बिजुली पुगेपछि पटुकेबासी खुसी

नवलपरासी । बत्ती मुनिको अँध्यारो जस्तै बनेको बर्दघाट नगरपालिका वडा नम्बर २ को पहाडी क्षेत्रका बस्तीहरू  झलमल भएका छन् । अहिले सम्म बिजुलीवत्ति नपुगेका पटुके, दमार, तिलकेनी, चाबच्चा, विहारी, पोखरीछाप लगायतका बस्तीहरूमा आ देखि बिजुली बत्तीको सेवा पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् ।

नेपाल विधुत प्राधिकरणको ५ करोडको लागतमा बर्दघाट वडा नं. २ को पहाडी क्षेत्रमा विद्युतिकरणको आयोजना निर्माण सम्पन्न भएको हो । २०७९ साल फागुन १८ गते टेन्डर आह्वानगरी २०८० पौष ११ गते  विद्युतिकरणको  निमार्णकार्य सम्पन्न गरेको थियो ।

विद्युतिकरण नपुगेको थोरै जनघनत्व भएको ग्रामीण क्षेत्रमा विद्युतिकरण पछि स्थानीयहरू उज्यालोमा बस्न पाउने भएका हुन । अहिले पहिलो पटक ७ वटा बस्तीका १ सय २८ घर धुरीमा मिटर जडान गरी करिब २ सय घरधुरीलाई प्रत्यक्ष सेवा दिन लागिएको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बताए । 

 विद्युत् प्रसारणको समुद्घाटन गर्न आएका पौडेलले समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधुतिकरण भएसँगै स्थानीयलाई लघु उद्यमसँगै  रोजगारका अवसर सृजना गर्नमा विद्युतिकरणले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका रुपमा विकास गर्न पहाडी क्षेत्रलाई अब बिजुली बत्तीको सेवाले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।ूउज्यालो नगर हाम्रो सङ्कल्प थियो, आज पूरा भएको महसुस भएको छ ।समय कहाँ पुग्यो तर जनता अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छू नगरप्रमुख श्रेष्ठले भने । यसअघि विद्युत् नभएका सो क्षेत्रमा नगरपालिकाले सोलार वितरण गरेको थियो।

भौगोलिक रुपमा विकट मानिएको पहाडी क्षेत्रमा विद्युत् पुगेसँगै सो क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस