९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्

रासस

विहीबार, २४ फागुन २०८०, १३ : ५८
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्

चितवन । नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।
राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका,२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् ।
 
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् । आठ प्रतिशत ख वर्ग र दुई प्रतिशत हाराहारी क वर्गका रहेका उनले जानकारी दिए । 

नयाँ निर्देशिका अनुसार ग वर्गको एम्बुलेन्सलाई बिरामी बोक्ने सवारी (प्यासेन्ट क्यारिङ भेइकल) का रुपमा मान्यता दिइएको अध्यक्ष लामिछानेले बताए । सन् २०१० मोडलभन्दा पहिलाका एम्बुलेन्सको स्तरोन्नति नगरी नवीकरण गर्न नपाइने निर्देशिकामा उल्लेख छ । 

सरकारले जारी गरेको निर्देशिकाले अस्पताल र रेडक्रसले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने भनेको भन्दै यसलाई समेत परिवर्तन गरिनुपर्ने अध्यक्ष लामिछानेको भनाइ छ । उहाँले भन्नुभयो, “यो निर्देशिकाले एम्बुलेन्स सञ्चालनमा ‘सिन्डिकेट’ लागू गरेको छ ।” नयाँ आएका एम्बुलेन्सलाई स्तरोन्नति गरेर सञ्चालन गर्नुपर्ने र पुराना एम्बुलेन्सलाई यसै सञ्चालन गर्न दिनुपर्ने उहाँको माग छ ।

प्रतिक्रिया दिनुहोस