सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, ११ : ५६
सुदूरपश्चिममा माओवादीले फिर्ता लियो समर्थन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको छ । आज बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए ।

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको थियो ।मुख्यमन्त्री शाहले माओवादी बाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएको थियो ।

आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलिपल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको हो ।सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै रहेको छ । अहिले सम्म कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ ।

यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँका मुख्यमन्त्री कमल बहादुर शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिँदा सम्म २९ सांसदको समर्थन देखिन्छ ।