मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १० : ५८
मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं। नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रालयको भागबन्डा गर्न आज दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।८ बुँदे सहमति मै आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने विषय उल्लेख छ ।

 

गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै सोमबार प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए । हाल नयाँ समीकरणबाट तीन जनामात्रै विनाविभागीय मन्त्री बनेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्री बनेका छन् ।

गठबन्धनमा चार दल रहे पनि कांग्रेस र राप्रपाबाहेकका दलहरूसँग संवाद अघि बढाइने बताइएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका छन् ।आइतबार मध्यरातमा कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने सहमति जुटेको थियो ।

गठबन्धनमा एमाले-माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासमेत जोडिएका छन् । यसमा क्रमशः नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराउने प्रचण्डको योजना छ ।

प्रतिक्रिया दिनुहोस