नेपालमा विकासको अभियान प्रारम्भ भयो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १८ : ५१
नेपालमा विकासको अभियान प्रारम्भ भयो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियान सुरु भएको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका-१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्णजयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन् । 

विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व, विनाशकारी भूकम्प, कोरोनाको सङ्क्रमणलगायत कारणले प्रभावित भएको अर्थतन्त्र गतिशील बन्दै गएको बताए । “नेपालमा अब विकासले क्रमशः गति लिएको छ । हामी उद्यमी-व्यवसायीको आत्मविश्वास जगाउनुपर्छ”, अर्थमन्त्री महतले भने, “मूल्यवृद्धिको दर क्रमशः घट्ने क्रममा छ । शेयर बजार उकालो लाग्दैछ । पर्यटकको आगमन र राजस्व वृद्धिले देशमा सम्भावनाको अवसरलाई कार्यान्वयन गर्न सकिने आशा जगाएको छ ।”

देशको अर्थतन्त्र सुधारोन्मुख भएसँगै सरकारका अबका प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जनातर्फ केन्द्रित रहेका अर्थमन्त्रीले बताए । “आगामी वैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन प्रयास गरिनेछ । देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।”