सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेका छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १० : ३७
सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेका छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताए । 

राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा  रहेको भन्दै उनले व्यवस्थाविरुद्ध  उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए ।  'व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था तात्त्विक भिन्नता आउन सकेको छैन। विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले  जनतामा निराशा छाएको छ' उनले भने 'अब प्रतिगमन मुर्दावाद भनेर  व्यवस्थाको रक्षा हुँदैन ।  सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नुपर्छ ।'

युवाहरू बिदेसिने र पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको   उल्लेख  गर्दै उनले  रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए ।

युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकोले  सरकारले अब देशैभर हरेक पालिकामा   रिह्याब सेन्टर  खोल्ने अभियान  चलाउने तयारी गरेको उनले बताए । 

शान्ति प्रक्रियालाई निष्कर्ष  पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस