एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १६ : ५२
एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८०/८१ को वार्षिक क्यालेण्डर पारित गरेको छ । महिला र उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ । सोमबार सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने छ ।

ए डिभिजन लिग अघि २०८१ को असोज/कात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ । बी डिभिजन र सी डिभिजनका खेलहरू एउटै समय २०८० को चैतमा हुने क्यालेण्डरमा समावेश छ । क्लबहरूसँग छलफल गरेर नै क्यालेण्डर तय गरेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

२ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ । महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् ।ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरूसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जाएको छ ।

फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौँ र पोखरामा हुनेछ । यू-१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ । यू-१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ ।

ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । यी प्रतियोगिताहरू २०८१ साउनदेखि असोजसम्म हुनेछन् । ललित मेमोरियल यू-१८ युथ लिग, यू-१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् ।

अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोज/कात्तिकमा हुनेछ । त्यस्तै, सी डिभिजन फुटसल लिग मंसिररपुसमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस