अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १० : ०३
अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् ।

मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ । वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलबायु नमूना कार्यक्रमअन्तर्गत अर्गानिक खेतीलाई पहिलो प्राथमिकतामा राखेर यहाँ काम अघि बढाइएको हो । किसानलाई विषदीरहित अर्गानिक उत्पादनमा जोड्न रामप्रसादराई गाउँपालिकाको वडा नं १, ३, ४ र वडा नं ६ मा अर्गानिक खेती विस्तार थालिएको छ ।

अर्गानिक खेती विस्तारको लागि पाँच वटा नमूना कृषि सिकाइ केन्द्र निर्माण गरिएको छ । सिकाइ केन्द्रमा वडा नं। १ मा ४० रोपनीमा र वडा नं ६ मा १५ रोपनी गरी ५५ रोपनी क्षेत्रमा विभिन्न बाली लगाएर किसानलाई अर्गानिक उत्पादनको लागि आवश्यक ज्ञान दिँदै आएको सिप्रेड, इसीमोडका प्राविधिक मोतीमान लिम्बूले जानकारी दिए । सिकाइ केन्द्रमा नमूना तरकारी खेती भइरहेको उनको भनाइ छ ।

‘किसानलाई अर्गानिक उत्पादनमा जोड्न विभिन्न स्थानमा सिकाई केन्द्र स्थापना गरेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ’, उनले भन, ‘हाम्रो लक्ष्य किसानलाई अर्गानिक उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनु हो । यो कार्यक्रम सञ्चालनमा आएपछि यहाँका धेरै किसान अर्गानिक खेती प्रणालीमा जोडिएको अवस्था छ ।’

जलवायु अनुकूलनका प्रविधि सिकाएर अर्गानिक र स्वास्थ्यकर कृषि उत्पादनमा प्रोत्साहन गरिएको उनको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत हरित गृह (ग्रिनहाउस) निर्माण, झोल मल उत्पादनको विषयमा किसानलाई अभ्यासमूलक सिकाइमा आबद्ध गराइएको उनको भनाइ छ ।

विगतका वर्षबाट वडा नं २ खेनामा नेपाल जलवायु नमूना गाउँ घोषणा गरेर आवश्यक काम भइरहेको छ । यो गाउँमा भइरहेको कामलाई निरन्तरता दिँदै अन्य वडामा पनि विस्तार थालिएको हो । यो कार्यक्रम कोशी प्रदेशमा भोजपुरको रामप्रसादराई गाउँपालिकामा मात्र सञ्चालन भइरहेको जनाइएको छ । जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत कृषिलगायत अन्य वातावरण संरक्षणसम्बन्धी कार्य गर्नको लागि यो वर्ष एक करोड ५० लाख बजेट रहेको गाउँपालिकाले जनाएको छ । यो बजेटबाट जलवायु परिवर्तनलाई ध्यानमा राख्दै कृषिसँगै, मुहान संरक्षण, पैदलमार्ग निर्माण, हरित गृह (ग्रिन हाउस) निर्माण, पर्यटकीय क्षेत्रको विकासमासमेत काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस