प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता – मधेशको विकासमा निरन्तर लाग्नेछु

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, १३ : ५४
प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता – मधेशको विकासमा निरन्तर लाग्नेछु

धनुषा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । मधेशको विकास नभई देशको विकास नहुने उनको भनाइ थियो।

सिराहा नगरपालिका वडा नम्बर १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मधेशको विकासमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । ‘अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे ।नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।

 

 

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ १ हजार ५ सय दशमलव  ४४ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस