जन्ती जीप दुर्घटना : दुलाहा-दुलही सवार गाडी घर पुग्यो, तर माहोल एकाएक शोकमा बदलियो

मृतकको संख्या ३ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १३ : ३९
जन्ती जीप दुर्घटना : दुलाहा-दुलही सवार गाडी घर पुग्यो, तर माहोल एकाएक शोकमा बदलियो

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका - १ गिरानचौरस्थित भित्री सडकमा सोमवार भएको जीप दुर्घटनामा मृतकको संख्या ३ पुगेको छ ।जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका - ६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमवार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका - ९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।​​

रमाइलो माहोल एकाएक शोकमा बदलियो

छापस्वाँरामा आइतवारदेखि विवाहको रमाइलो माहोल थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो । आइतवार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो । तर अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो ।​​

आँबुखैरेनी गाउँपालिका - १ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो । दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ । ​​

आँबुखैरेनी - ६ का वडाध्यक्ष दिलीप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए । 'खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ', उनले भने ।

गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो । 'दुई वटा गाडी घर पुगिसकेको थियो । आफन्तहरू चढेको बोलेरो जीप दुर्घटना भयो । घाइतेहरू पनि आफन्त नै हुन्', उनले भने ।